दार्चुला । सरकार र आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति भएपछि आजदेखि अस्पतालमा सेवा नियमित भएको छ । डाक्टर र स्वास्थ्यकर्मी काममा फर्किएको बताईएको छ ।

शनिबार गृह मन्त्रालयमा भएको वार्तामा ६ बुँदे सहमति भएपछि डाक्टर र स्वास्थ्यकर्मीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी पोखराको मणिपाललगायत स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षालाई थप भरपर्दो बनाउने, त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई समेत क्रियाशील बनाउने, डाक्टर तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण तथा कुटपिट गर्नेलाई ऐनअनुसार कारबाही चलाउनेलगायत सहमति भएको बताईएको छ ।

डाक्टरहरुको आन्दोलनका कारण गएको मङ्गलवारदेखि अस्पतालमा उपचार सेवा प्रभावित हुँदै आएको थियो । उपचारका लागि अस्पताल पुगेका बिरामी मर्कामा परेका थिए । काठमाण्डौका ठूला अस्पताल त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटनलगायत देशभरीका धेरैजसो सरकारी अस्पतालमा सेवा प्रभावित बनेको थियो ।

 

डाक्टर र अरु स्वास्थ्यकर्मीले आकस्मिकबाहेकको स्वास्थ्य सेवा बन्द गरेको भने पनि आकस्मिक सेवा समेत प्रभावित भएको थियो । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको मनोबलमा ह्रास आएको हुँदा उनीहरूको मनोबल बढाउन कुटपिट गर्ने व्यक्तिलाई तीन वर्षभन्दा बढी सजाय हुनुपर्ने र त्यसका लागि कानुन संशोधन गर्न स्वास्थ्य मन्त्रालयले एक हप्ताभित्र प्रक्रिया अघि बढाउने बताएको छ ।

ujailo