दार्चुला । दार्चुलामा पछिल्लो ३ वर्षमा नदि तथा खोलामा बगेर १० जना बेपत्ता र ४ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७९।८० देखि चालु आर्थिक बर्ष २०८१।८२ को हाल सम्म जिल्लाका ९ वटै स्थानीय तहमा नदिमा बगेर १० जना बेपत्ता भएका छन्, भने ४ जनाको मृत्यु भएको छ।

आर्थिक बर्ष २०७९।८० मा जिल्लाको महाकाली नगरपालिकामा बगेर १ जनाको मृत्यु भएको थियो, भने १ जना बेपत्ता भएका थिए । त्यस्तै शैल्यशिखर नगरपालिकामा पनि १ जनाको मृत्यु र १ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिनुभयो ।

सोही बर्ष जिल्लाको दुहुँ गाउँपालिकामा बगेर १ जना बेपत्ता भएको र व्याँस गाउँपालिकामा बगेर १ जनाको मृत्यु भएको थियो । आर्थिक बर्ष २०७९।८१ बगेर ३ जनाको मृत्यु तथा ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाको तथ्याङ्कले देखाएको छ ।

त्यस्तै आर्थिक बर्ष २०८०।८१ मा जिल्लाको महाकाली नगरपालिकामा बगेर १ जना, शैल्यशिखर नगरपालिकामा २ जना बेपत्ता भएका छन्, भने नौगाड गाउँपालिकामा बगेर १ जनाको मृत्यु भएको थियो । सो आर्थिक बर्षमा बगेर ३ जना बेपत्ता तथा १ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क रहेको छ ।

चालु आर्थिक बर्ष २०८१।८२ को हाल सम्म जिल्लाको महाकाली नगरपालिकामा बगेर ३ जना र अपिहिमाल गाउँपालिकामा १ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।