दार्चुला । दार्चुलाको हिमाली पाटनहरुमा यार्सागुम्बा संकलन कार्य सुरु भएको छ । अपिहिमाल गाउँपालिकाका धेरैजसो विद्यालयका अभिभावकसंगै विद्यार्थी यार्सागुम्बा खोज्न लेकतिर लागेपछि पठनपाठन बन्द भएको छ । विद्यालय सञ्चालन गरे पनि विद्यार्थी नआउने भएकाले बर्खे र हिउँदे बिदामा मिलान हुने गरी विद्यालय बन्द गरिएको अपिहिमाल गाउँपालिकाको शिक्षा शाखाका प्राविधिक सहायक मदनराज जोशीले बताउनुभयो ।

विगतमा पालिकाले नै विद्यालय बन्द गर्ने गरेको भए पनि यो वर्षदेखि यार्सागुम्बा संकलनका बेला विद्यालय बन्द गर्ने वा खुलाउने अधिकार विद्यालय व्यवस्थापन समितिलाई दिएको छ । यार्सागुम्बा पाइने समयमा मात्रै विद्यालय बन्द गर्ने गरी विद्यालयहरुले आफुअनुकुल निर्णय गरेका छन् । अधिकासं विद्यालय बन्द भइसकेका छन, उहाँले भन्नुभयो, बाँकी विद्यालय समेत जेठ ४ गतेसम्म बन्द गर्ने जानकारी प्राप्त भएको छ ।

अपिहिमालका विद्यार्थी, शिक्षक र अभिभावक यो बेला यार्सागुम्बा टिप्न लेकतिर जाने भएकाले जेठ १५ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो । अपिहिमालमा २४ वटा सामुदायिक विद्यालय रहेकोमा सबै विद्यालय बन्द हुने बताइएको छ । अन्य स्थानीय तहका विद्यार्थी समेत पढाइ छोडेर यार्सा संकलनका लागि लेकतिर जाने गरेका छन् । स्थानीय सर्वसाधारण तथा विद्यार्थी यार्सा संकलन हुने पाटन उक्लिएपछि अपिहिमालका अधिकांस गाउँ सुनसान भएको स्थानीय बालकुमारी बोहराले बताउनुभयो ।

अपिहिमालको लोलु, रोखापु, रिङ्देपानी, रौन्याड, सतगंगा, चाइमटेला, कालीढुगांलगायत पाटनमा यार्सागुम्बा संकलन हुने गरेको छ । यार्सा खोज्न शुरु भएसँगै दार्चुलाको अपिहिमाल, व्याँस, दुहुँ, मार्मा, नौगाड लगायत क्षेत्रका बासिन्दा अपिहिमालको हिमाली पाटनमा पुगेका छन् । हिमाली क्षेत्रका बासिन्दाले एक महिना संकलन गरेको यार्सागुम्बा बिक्रि गरेर बर्षभरीको खर्च जोहो गर्ने गरेका छन् । गाउँबाट बालबालिका र बृद्धबृद्धाबाहेक सबैले खाद्यान्न र बन्दोबस्तीका सामानसहित लेकमै बसेर यार्सा संकलन गर्ने गरेका छन् ।