
२२ चैत, काठमाडौं । निर्माण सम्पन्न भएको ९ महिनापछि काठमाडौं चोभार सुख्खा बन्दरगाह मंगलबारदेखि सञ्चालनमा आएको छ । वीरगञ्ज नाकाबाट स्थलमार्ग हुँदै राजधानी काठमाडौं आएका चार वटा कन्टेनरलाई भित्र्याएर प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाह सञ्चालनको औपचारिक सुरुवात गरे ।
बन्दरगाह सञ्चालनको जिम्मा पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिकाअनुसार बुधबारदेखि बन्दरगाह नियमित रुपमा सञ्चालनमा आउनेछ । २०७५ सालमा निर्माण सुरु भएको बन्दगाह गत असारमा निर्माण सम्पन्न भएको थियो । वैदेशिक व्यापारको सबै काम एकद्वारबाट गरिने व्यापार पूर्वाधार सञ्चालनपछि काठमाडौं अन्तर्राष्ट्रिय व्यापारको हब बन्ने प्रधानमन्त्रीको दाबी छ । अर्थमन्त्री जर्नादन शर्माले पनि बन्दरगाह सञ्चालनपछि नेपाललाई स्थलमार्गबाट समुद्री तटसम्म पहुँच पुगेको बताए ।
संघीय राजधानी केन्द्रित व्यापारका लागि भारत र चीनको समुद्री तटबाट मालसामान बोकेर आउने कन्टेनरहरु अब सीधै काठमाडौं आउन बाटो खुलेको उनले बताए ।
नेपालबाट निर्यात हुने वस्तु पनि अब सीधै समुद्री तटसम्म पुग्ने शर्माको दाबी छ । सीमा नाकाबाट टाढाको पहिलो र एक मात्र चोभार बन्दरगाहमा पाँच सय कन्टेनर र पाँच सय ट्रक गरी एक हजार मालबाहक सवारी साधन अट्ने क्षमता छ ।
भन्सार जाँचपास, क्वारेन्टिन, सुरक्षा, बैंक र आयात निर्यातको सम्पूर्णका काम एकै ठाउँबाट गर्न सकिने हुनाले बन्दरगाह सञ्चालनमा आउनु व्यापार क्षेत्रका लागि कोसेढुंगा भएको कतिपयको भनाइ छ । तर यो परियोजना महँगो पर्न जाने खतरा पनि औंल्याएका छन् ।
नेपाल-भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत विश्व बैंकको एक अर्ब ५४ करोड ऋण सहयोगमा निर्माण भएको परियोजना पूर्ण रुपमा सञ्चालनमा आउन तराई मधेश फास्ट ट्रयाक र रेलमार्गसमेत बन्नुपर्ने व्यापार तथा पारवहन क्षेत्रका जानकारहरु बताउँछन् ।
चोभार सुख्खा बन्दरगाह सञ्चालन पछि अब भारतसँगका प्रमुख पाँच नाकाबाट आउने मालबाहक सवारी साधन काठमाडौंमा राख्न सहज भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल बताउँछन् ।
नेपालले प्रयोग गर्ने भारतीय बन्दरगाहहरु कोलकाता र विशाखापटनमबाट माल वस्तु बोकेर हिंडेका कन्टेनरहरुको भन्सार र क्वरेन्टिन जाँच पास अब चोभारमा हुनेछ ।
काठमाडौंका व्यापारीहरुले यसअघि भन्सार बिन्दुहरुमा तिर्नुपर्ने राजस्व, परीक्षण तथा आयातको घोषणा लगायतका कामहरु अब चोभारमा हुने र यसले व्यापारीको लागत कम गर्ने गजुरेल बताउँछन् ।
बन्दरगाहको भन्सार बिन्दुमा आइपुग्न मेची, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह सिर्सिया र भैरहवाबाट गरी पाँच वटा रुट तय गरिएको छ ।
आफ्नो भन्सार बिन्दुबाट डिजिटल लकसहित छुटेको मालवाहक सवारी साधनहरु नारायणगढबाट भने मुग्लिङ, नौबिसे, नागढुंगा, थानकोट र कलंकी बल्खु हुँदै एउटै रुटमा सुख्खा बन्दरगाह आइपुग्नेछन् । यहाँ भन्सार जाँचपास भएपछि मात्र व्यापारीले माल वस्तु आफ्नो गन्त्यव्यमा लैजान सक्छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा उद्योगी व्यवसाय प्रवर्द्धनका लागि चोभार सुख्खा बन्दरगाह कोसेढुंगा भएको बताउँछन् । यसले निजी क्षेत्रको व्यापार प्रवर्द्धनमा ठूलो सहयोग पुर्याउने उनको बुझाइ छ ।
कमजोर व्यापार पूर्वाधारका कारण बढेको उद्योगको लागत घटाउन चोभार सुख्खा बन्दरगाह महत्वपूर्ण हुने गोल्छा बताउँछन् । तर अहिलेकै अवस्थामा व्यापार पूर्वाधार बनेपनि यसलाई पूर्ण सञ्चालनमा ल्याउन चुनौती रहेको उनी तर्क गर्छन् । ‘बन्दरगाह बनेर हामी हषिर्त छौं । तर रेल्वे र फास्ट ट्रयाक जसरी पनि यसमा जोडिनुपर्छ’ गोल्छाले भने ।
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल पनि बन्दरगाहले निजी क्षेत्रको हित हुने बताउँछन् । बन्दरगाहले निकासी पैठारी र यसमा लाग्ने लागत निकै कम हुने अपेक्षा रहेको उनले बताए ।
उनले भने, ‘काठमाडौंबाट आयात र निर्यात गर्ने व्यावसायीका लागि यो राम्रो कुरा हो । बन्दरगाहले आयात निर्यातको लागत पनि घटाउँछ ।’ यति ठूलो संरचनाको पूर्ण प्रयोगका लागि सरकारले हरदम काम गर्नुपर्ने भन्दै उनले पनि रेल र फास्ट ट्रयाकले बन्दरगाहलाई जोड्न माग गरे ।
नेपाल चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्लले बागमती प्रदेशको व्यापारका लागि ठूलो सहयोग पुर्याउने बन्दरगाहका लागि चिनियाँ स्थलमार्गको पहुँच पनि आवश्यक भएको बताए ।
काठमाडौंमा उत्पादन हुने हाते कागज, जडीबुटी, हस्तकलाका सामान निर्यातमा बन्दरगाह सहयोगी हुने भन्दै उनले अन्तर्राष्ट्रिय व्यापारको ५० प्रतिशत व्यवसायीले प्रयोग गर्न मिल्नेगरी बन्दरगाह सञ्चालन गर्नुपर्ने बताउँछन् ।
बन्दरगाहको पूर्ण लाभका लागि अन्तर्राष्ट्रिय स्तरको ल्याब र कोल्ड स्टोर तथा प्रर्दशनी कक्षा चोभार क्षेत्रमै आवश्यक रहेको मल्ल औंल्याउँछन् ।
व्यापारिक हबको रुपमा चोभार बन्दरगाह निर्माण सकारात्मक भए पनि यसको पूर्वाधारमा थप काम गर्नु पर्ने बन्दरगाह क्षेत्रका सांसद राजेन्द्र केसी बताउँछन् ।
बन्दरगाहमा हुने सवारी आवतजावतको चाप अनुसार सडक पूर्वाधार पर्याप्त नभएको उनले बताए । फास्ट ट्रयाक जोडिने भनेर बन्दरगाह बनाइए पनि अहिलेको दुई लेनको सडकमा ४० टनको कन्टेनर गुड्न नसक्ने उनको भनाइ छ ।