
दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–१ का विभिन्न बस्तीमा लटरम्म फलेको स्याउमा जंगली बदेलले नोक्सानी गरिरहेको छ । नौगाड गाउँपालिका–१ मानाकोट र जात्रामा उत्पादन हुँदै गरेको स्याउ जंगली बदेलले सखाप पारेको व्यावसायिक कृषक धनसिह डडालले बताउनुभयो ।
दार्चुलाको नौगाड गाउँपालिका–१ मा रेड डेलिसियस, गाला, फुजी लगायत विभिन्न जातका स्याउ उत्पादन भइरहेका छन् । कृषकहरुले व्यक्तिगत र सामुहिकरुपमा व्यावसायीक स्याउ उत्पादन गरिरहेका छन् । बिरुवा लगाएको तीन वर्षमै स्याउ उत्पादन सुरु भएपछि कृषकहरु स्याउखेतीतर्फ उत्साहित भएको बेला बदेलले आतंक गरिरहेको अर्का कृषक उजलसिंह डडालले बताउनुभयो । भदौ दोश्रो हप्ता देखि स्याउ टिप्न सुरु गर्ने योजना थियो, उहाँले भन्नुभयो, साउन महिनाको सुरु देखि नै जंगली बदेलले ठूलो क्षति गरिरहेको छ । एकै रातमा जंगली बदेलबाट स्याउ बगैचामा भएका स्याउहरु सखाप गरेको कृषकहरुको गुनासो छ । अहिलेसम्म स्याउ बगैचाको करिब ८० प्रतिशत स्याउ बदेलले सखाप गरिसकेको कृषक अमरसिंह डडालले बताउनुभयो ।
रातभरी स्याउ बगैचामा बसेर हेरचाह गर्दा पनि बदेलबाट जोगाउन नसकिएको स्थानीय कृषकहरुको गुनासो छ । लटरम्म फलेको स्याउ पाक्ने बेलामा यसरी जंगली बदेलले सखाप पार्दा स्याउ व्यवसायी कृषक चिन्तित छन । स्थानीय स्तरमा अपनाउन सकिने सबै उपाय अपनाउदा पनि जंगली बदेल नियन्त्रण गर्न नसकिएको स्थानीय धनसिंह डडालले गुनासो गर्नुभयो । जंगली बदेलको आक्रमण पछि अहिले स्थानीय कृषकहरुले पाक्ने बेला नहुँदै बचेको स्याउ टिपिरहेको उहाँले बताउनुभयो ।
नौगाड–१ स्थित मानाकोट र जात्रामा मात्रै यो सिजनमा १५ क्विन्टल बढी स्याउ उत्पादन हुने अनुमान गरिएको नौगाड गाउँपालिका कृषि तथा पशुपन्छी बिकास शाखा अधिकृत प्रकाश सिह धामीले जानकारी दिनुभयो । बदेलले स्याउ नष्ट गरेपछि अहिले कृषि ज्ञान केन्द्र दार्चुला र पालिकाले क्षतिको बिवरण संकलन गरिरहेको उहाँले बताउनुभयो । विगत तीन/चार वर्ष देखी नौगाड गाउँपालिका कृषि तथा पशुपन्छी बिकास शाखा, कृषि ज्ञान केन्द्र दार्चुला र स्याउ जोन केन्द्र दार्चुलाले स्याउका बिरुवा बितरण, भिटामिन तथा बिषादी बितरण, तालिम सञ्चालन, समय समयमा अनुगमन सहित अनुदान र अन्य विविध कार्यक्रम सन्चालन गर्दै आएका थिए । छोटो समयमै स्याउको राम्रो उत्पादन भएपछि व्यवसायप्रति उत्साहित कृषकहरु बदेल आतंकका कारण चिन्तित बनेका छन् ।
दार्चुलाको अपि हिमाल, व्याँस, नौगाड गाउँपालिकामा स्याउ उत्पादन राम्रो भइरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन दार्चुलाका अनुसार जिल्लाभरी अढाइसय हेक्टर बढी क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । गाउँसम्म यातायातको पहुँच नहुँदा बजार र ढुवानीको समस्या झेल्नुपरेको कृषकहरुको गुनासो छ । दार्चुलाको मौसम सुहाउँदो इटाली, गाला, फुजी, रोयल, डेलिसियस, गोल्डन डेलिसियस लगायत विभिन्न जातका स्याउको उत्पादन हुने गरेको छ ।