दार्चुला । सुदूरपश्चिम प्रदेशका देव–देवालयहरू (मन्दिर) मा विशेष हर्षोल्लासकासाथ मनाइने गौरा पर्व भदौ ७ र २१ गते मनाइने भएको छ । भदौ ७ गते गौरा पर्व मनाउनेले पञ्चमीको अवसरमा सोमबार बिरुडा भिजाएका छन् । बिरुडा भिजाएसंगै सुदूरपश्चिममा गौरा पर्वको विधिवत सुरुवात भएको छ ।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा स्वीकृति प्राप्त नेपालका पचाञ्ङ्गहरुमा (सुदूरपश्चिमका अठोला पञ्चाङ्ग, शुभ पञ्चाङ्ग लगायत) ले २०८० साल भदौ ७ गते गौरा पर्व मनाउन उत्तम रहेको बताएका छन भने सुदूरपश्चिमका धेरैजसो स्थानीय ज्योतिषहरुले भदौ २१ गते गौरा मनाउनु उत्तम रहेको साइत दिएपछि सुदूरपश्चिममा यो वर्ष दुई गौरा भइरहेका हुन् ।

संस्कृति, परम्परा र शास्त्रीय मान्यता अनुसार २१ गतेको गौरा उपयुक्त रहेको स्थानीय ज्योतिषहरूले निष्कर्ष निकालेपछि दार्चुलाको लेकम क्षेत्रका अधिकांश गाउँ र सुदूरपश्चिमका विभिन्न गाउँठाउँमा भदौ २१ गते गौरा पर्व मनाउने तयारी भइरहेको छ । दार्चुलाका केही स्थानसहित सुदूरपश्चिमका विभिन्न गाउँमा भदौ ७ गते गौरा मनाइदैछ । गौराका लागि प्रशिद्द देशकै प्रशिद्ध धाम मालिकार्जुनमा भदौ २१ गते गौरा पर्व मनाइदैछ । मालिकार्जुन धामसहित लेकम क्षेत्र र सुदूरपश्चिमका अधिकांश देव–देवालय (मन्दिर) हरूमा भदौ २१ गते गौरा मनाइने अठोला ज्योतिष ईन्द्रदेब जोशीले बताउनुभयो ।
ज्योतिषहरूविचको मतभेदका कारण सुदूरपश्चिममै यो वर्ष दुई दिन गौरा पर्व मनाइदैछ । यो वर्षको गौरा पर्व भदौ ७ गते मनाउने कि २१ गते मनाउने भन्नेमा वहस भइरहेको बेला विभिन्न ठाउँ विशेष फरकफरक निर्णय गरेर सोहि अनुसार गौरा पर्व मनाइदैछ ।

गौरापर्व विरुडा पञ्चमीदेखि अष्ठमीसम्म चार दिन सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा मनाइने गरिन्छ । पछिल्लो समय काठमाडौंमा समेत गौरापर्वको अवसरमा डेउडा लगायत विभिन्न कार्यक्रम आयोजना हुने गरेका छन् । एउटै तिथिमितिमा हुनुपर्ने गौरापर्व यो वर्ष ज्योतिषहरूको फरकफरक दृष्टिकोणका कारण दुई तिथिमितिमा भइरहेको हो ।

पहिले मनाउनेले भिजाए बिरोडा

दार्चुला जिल्लाका केही ठाउँहरुमा गौरा पर्व मनाउन सुरु भएको छ । दुहुँ क्षेत्रका साथै महाकाली तथा शैल्यशिखर नगरपालिकाको केही ठाउँहरुमा सोमबारबाट गौरा मनाउन सुरु भएको हो । पूजामा प्रयोग गरिने पाँच प्रकारका अन्न (बिरुडा) भिजाएसंगै सोमबारदेखि गौरा पर्व मनाउन सुरु भएको हो । सुदूरपश्चिमको ठूलो पर्व गौरामा शिव–पार्वतीको पुजा आराधाना हुने गरेको छ ।

यो वर्ष २१ गते अगस्ती उदयको दोष भएकाले भदौ ७ गते नै गौरा पर्व मनाउनु उपयुक्त हुने पञ्चाङ्गकारहरुले बताएका छन् । गौरा एकादशी तथा जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेको र सुदूरपश्चिममा २१ गतेपछि मात्रै अगस्ती उदय हुने भएकोले भदौ २१ गते गौराको उपयुक्त साइत रहेको स्थानीय ज्योतिषहरुले बताएका छन् । ज्योतिषहरुबीच गौराको तिथिका विषयमा मतभेद भएपछि सुदूरपश्चिममा यो वर्ष दुई दिन गौरा हुँदै छ । पञ्चाङ्ग निर्णायक समितिको निर्णय अनुसार सरकारले भदौ ७ र ८ गते गौरा पर्वको बिदा दिएपछि २१ गते स्थानीय तहले विदा दिनुपर्ने माग भइरहेको छ ।

भदौ ७ गतेको गौराका लागि ४ गते बिरुडापञ्चमी, ५ गते नानी गौरा, ६ गते अमुक्ताभरण सप्तमी र अन्तिम दिन ७ गते गौराष्टमी छ । भदौ २१ मा गौरा मनाउनेको १८ गते बिरुडापञ्चमी, १९ गते नानी गौरा, २० गते अमुक्ताभरण सप्तमी र २१ गते गौराष्टमी छ ।

गौरामा पुजाआराधानाका साथै डेउडा ढुस्कु लगायत खेल खेल्नुका साथै दामाहा लगायत बाजा बजाएर रमाइलो गर्ने गरिन्छ । लेकम क्षेत्रमा गौरा सेलाइसकेपछि समेत विभिन्न मठमन्दिरमा गौरा विशेष मेला (खेडी, धोडी, लमधोडी) लाग्ने गरेका छन् ।