
दार्चुला । दार्चुलाको एक विद्यालयका प्रधानाद्यापक छ दिनदेखि वेपत्ता भएका छन् । लेकम गाउँपालिका–२ स्थित श्री सरस्वती आवि बिटोराका प्रधानाध्यापक अनिरुद्र भट्ट छ दिनदेखि बेपत्ता भएको आफन्त अम्बादत्त भट्टले जानकारी दिनुभयो ।
५६ वर्षीय भट्ट साउन ३१ गते मंगलवार दिउँसो आमालाई खाना पकाउन भनी आफू नुहाउनका गएपछि सम्पर्कविहीन भएको उहाँले बताउनुभयो । बेपत्ता शिक्षक भट्टको स्थानीयहरू र प्रहरीले खोजि गरिरहेका छन् । भिरमा लडेको हुनसक्ने आशंकामा नजिकका सबै गाउँका खोला, भिरपाखाहरुमा हेरेपनि नभेटिएको बताइएको छ ।
प्रहरी चौकी रातामाटाबाट निरन्तर सुरक्षाकर्मीहरु खोजि कार्यमा खटिएका छन् । ईलाका प्रहरी कार्यालय रिठाचौपाताका ईन्चार्ज तिलक कलौनीको नेतृत्वमा रिठाचौपाताबाट समेत प्रहरी टोली खटिएको थियो । स्थानीयबासीन्दा र प्रहरीले खोजि गर्दा अहिलेसम्म वेपत्ता भट्ट फेला नपरेको रिठाचौपाता प्रहरी कार्यालयका ईन्चार्ज तिलक कलौनीले बताउनुभयो ।
बेपत्ता भट्टको खोजि कार्य जारी रहेको आफन्तजनले जनाएका छन् ।